दुई वर्ष अघि ‘छापामारको छोरो’ कथा संग्रहका लागि मदन पुरस्कारबाट सम्मानित भएपछि कथाकार महेशविक्रम शाहलाई एकजना सञ्चारकर्मीले सोधेछन्–‘द्धन्दकालका विषयमा कथा लेखेर यत्रो पुरस्कार हात पार्नुभो । के अब शान्तिका कथा लेख्नुहुन्छ ?’जवाफमा शाहले ‘अब संक्रमणकालका कथा लेख्ने’ योजना सुनाएका रहेछन् । संक्रमणकाल नसकिदै उनको त्यो योजना फलिभूत भएको छ । हो, हालसालै निस्किएको उनको ‘काठमाडौंमा कामरेड’ कथा संग्रह त्यही योजनाको साकार रुप हो ।
माओवादी द्धन्द पश्चात शुरु भएको शान्ति प्रक्रिया अन्तिम टुङ्गोमा नपुगेको अवस्था र मुलुक नया“ थितिमा जाने भनिएपनि त्यसको पूर्ण अभ्यास शुरु नभइसकेको यो अवधि संक्रमणकाल हो । संविधानसभाबाट नया“ संविधान निर्माण भई हाल घोषित संघीय लोकतान्त्रिक गणतन्त्रको व्यावाहारिक अभ्यास शुरु नहुञ्जेल जनसाधारणले यस अवधिलाई यसरी नै बुझ्नेछन् । अर्थात् मुलुकमा संक्रमणकाल सकिएको छैन । जारी संक्रमणकालीन परिवेश र घटनाक्रमलाई उन्दै÷बुन्दै शाहले यो कथा संग्रह तयार पारेका छन् । एक हिसाबले यो शान्ति प्रक्रियाका जटिलता र संक्रमणकालीन परिवेशको पुलिन्दा हो ।
कथाका सन्दर्भ,पात्र,घटना,दृश्य नौला छैनन् । उनले जनसाधारणले दिनदिनै देखेभोगेका विषयवस्तुलाई चस्स छुनेगरी कथामा उतारेका छन् । यस अर्थमा यो समसामयिक छ । दश वर्ष सशस्त्र युद्धको नेतृत्व गरेको माओवादीको शान्तिपूर्ण अवतरणपछि जनसाधारणको आशा÷अपेक्षा विपरीत बढेको अराजकता र सत्तामुखी चरित्रप्रति लेखकले घोर असहमति जनाएका छन् । मुख्यत दीर्घकालीन शान्ति प्रक्रियाको क्रममा भइरहेको राजनीतिक रुपान्तरणको अभ्यास र यसमा आइपरेका चुनौतीलाई कथामा समेटिएका छन् । खासगरी द्धन्दपछि राजनीतिक शक्तिको रुपमा उदाएको माओवादीभित्र यसक्रममा देखापरेका विसंगति र समस्याहरुलाई तिखो प्रहार गरिएको छ । माओवादी छापामार,तल्लो तहको कार्यकर्तादेखि मन्त्री बनेका नेतासम्म कथाका पात्र बनेका छन् । माओवादी नेतृत्वमा शान्ति र सत्ता अभ्यासका क्रममा बदलिएको जीवनशैली,नेता–कार्यकर्तावीचको बढ्दो दूरी र तिनमा पलाउदो असुरक्षा भावलाई कथाकारले महसुस गरेका छन् ।
‘काठमाडौमा कामरेड’ कथामा प्रतिनिधि पात्र अर्थात् राजधानीका सडकमा चन्दा असुल्दै हिड्ने पूर्ब छापामारको असुरक्षित मनोदशाको गहिराई नाप्ने कोसिस गरिएको छ । बन्दुकसहित हिड्नुभन्दा बन्दुकविहीन हु“दा प्राप्त हुने पूर्व छापामारको आनन्दभावलाई प्रतिकात्मक शैलीमा प्रस्तुत गरिएको छ । बन्दुकको दम्भप्रति तिखो वा“ण हान्दै बन्दुकविहीन कानूनी राजको वकालत कथामा गरिएको छ । ‘कामरेड अब ती दिन पुराना भए’ कथामा शहर पसेका माओवादी नेताहरुमा खिइदै गएको ‘क्रान्तिकारीता’ र बद्लिएको रवाफी जीवनलाई व्यङ्ग्य गरिएको छ । समसामयिक राजनीति र सामाजिक परिवेशमा अटेर बुनिएका उनका कथाहरु मूलत राजनीतिक नेतृत्वको चरित्रमाथि प्रश्न गरेको छ । माओवादी नेतृत्व मात्रै होइन, सत्ताप्राप्तिको छिनाझप्टीमा लागिपरेका अरु ठूला दल र ती दलका नेतामा हुर्कदो प्रवृत्तिमाथि प्रहार गरिएको छ । ‘नया“ राजाहरु’ कथा त्यस्तै विषवस्तुमा लेखिएको छ । सहमति र सहकार्यको राजनीति गर्ने प्रतिवद्धता जाहेर गरेका ठूला दलवीचको अन्तद्र्धन्द बडो मिठो र पठनीय शैलीमा पस्किएको छ । संघीयताका नाममा पृथ्वीनाराण शाहले एकीकरण गरेको राज्य टुक्राउदै दलका नेताहरु आफूलाई नया“ राजा बनाउने होडमा लागिपरेकामा कथाकारले असन्तुष्टी पोखेका छन् ।
‘छिमेकीको छाता र छाडा छोराहरु’ कथामा दलहरुको निरीहपनलाई उजागर गरिएको छ । अझ छिमेकी शक्तिको को सबैभन्दा ठूलो पुजारी हुने होड चलेकोमा लेखक दिक्दार छन् । सत्ताबाहिर हु“दा छिमेक विरुद्ध विद्रोह ओकल्ने नवोदित दल झन् लम्पसार परेकोमा उनको दिक्दारी बढेको छ । ‘हराएको देश खोज्दै जा“दा’ वा ‘गुलाव सिंह बन्यो विस्फोट सिंह’लगायतका कथामा पनि परिवेश र पात्र फरक भएपनि विकसित भैरहेको सत्ताकेन्द्रित राजनीति र राजनीतिमा बढ्दो अपराधीकरणमाथि असहमति जनाइएको छ । सडकमा बढ्दो अराजकता र मनलागीतन्त्रका कारण निर्दोष नागरिकले अनाहकमा व्याहोर्नुपरेका पीडालाई ‘उ एक पात्र लोकतन्त्रको’ मा उतारिएको छ ।
कथामा उनको पुलिस पेशाको कुनै आग्रह मिसिएको छैन । तर जागिर खा“दाका क्रममा भेटिएका दृश्य र पात्रहरुलाई उनले राम्रैसंग कथामा उपयोग गरेका छन् ।‘रोजर सेन्ड ओभर’ उनको जागिरको एउटा अंश हो । त्यस दौरानमा एउटा प्रहरी अधिकृतले खेप्नुपरेका मानसिक दवाबलाई उनले यस कथामा दर्शाएको छन् । माओवादी द्धन्लकालमा रोल्पामा कार्यरत यी पुलिस अधिकृत त्यसपछि उपत्यका प्रहरी कार्यालयको चोरी शाखाका प्रमुख थिए । चोरी शाखामा काम गर्न दैनिक उठबस चोरहरुसंग हुनु स्वाभाविक थियो । चोरहरुको संगतको फल उनले ‘पुतली चोर कथा लेखेका छन् । राजधानीको कुनै सुकुम्बासी टोलका केही चोरहरु मिलेर घर फोर्छन् तर एकले अर्कालाई पुलिसको फन्दामा पार्ने अभिष्ट सबैको हुन्छ । त्यसको कारक हुन्छे – कथाकी शीर्षक पात्र पुतली । कथामा नारी मनोविज्ञान र विवसता दर्शाइएको छ ।
उनका ‘उ पनि काठमाण्डू’ र ‘मापूतोकी मेरी’ कथामा पनि नारी संवेदना र मनोदशा छ । राजधानीको महिला होस्टलकी एक छात्रा होस् अथवा मोजाम्विकको मापुतोकी मेरी अथवा सुकुम्बासी टोलकी पुतली हुन्,यी फरक परिवेश र पृष्ठभूमिका नारीहरुको मनोविश्लेषण र विवसतालाई लेखक उजागर गर्न सफल भएका छन् । ‘उ,म र बन्डाई विच’ यी कथा भन्दा फरक दृश्य र विषयवस्तुमा लेखिएको छ । कमाउन विदेशिने वाध्यता, विदेशी भूमिका पलायत भैसकेपछि त्यहा“ दोस्रो दर्जाको नागरिक हुुनुपर्दाको पीडा र त्यो परिवेशमा देशप्रति जाग्ने भावनालाई अत्यन्त सरस किसिमले लेखिएको यो कथाले आप्रवासी जीवन विताइरहेका नेपालीको मनोदशा राम्रैसित झल्काएको छ । उन्नाइस वटा कथा समेटेर प्रकाशित शाहको पा“चौ कृति ‘काठमाडौंमा कामरेड’ का अरु कथा पनि उत्तिकै पठनीय र मर्मबोध गर्ने खालका छन् । यसअघि उनका सटाहा,सिपाहीकी स्वास्नी,छपामारको छोरो र अफ्रिकन अमिगो कथा संग्रहहरु प्रकाशित भैसकेका छन् ।कथा लेखनमा स्थापित नाम शाहको लेखनमाथि समालोचक÷लेखकहरुले प्रंससाको पुल बा“धेका छन् । बरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेले त ‘महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युद्ध हाक्लान जस्तो लाग्छ’ भनेका छन् । शाहका कथाले गोठालेले भनेझै युद्ध हा“क्ने हुन्÷होइनन्,त्यो भन्न त अफ्ठयारो छ तर ‘काठमाडांैंमा कामरेड’ पढेपछि समसामयिक विषयवस्तुका प्रखर कथा शिल्पी हुन् भन्न सायद कुनै कन्जुस्याईं गर्नु पर्नेछैन् ।