काठमाडौ — चीन बाहिरको दुनियाँले बेइजिङको केन्द्रमा रहेको तियानमेन स्क्वायर भन्ने बित्तिकै सन् १९८९ जूनमा भएको विद्यार्थी आन्दोलनलाई सम्झन्छ र त्यसविरुद्ध तत्कालीन चिनियाँ शासकले सैन्यदमन गरेका थिए भनेर बुझ्छ । तर चिनियाँहरू यसलाई एउटा ऐतिहासिक महत्वको स्थलमात्रै होइन, सन् १९४९ पछिको गणतान्त्रिक चीनको प्रतीक ठान्छन् । दुईथरी चिनारी बोकेको तियानमेनमा दिनहुँ मान्छेहरूको छिचोलिनसक्नु भीड लाग्छ । त्यस्तो भीडमा थोरै विदेशी र अधिकांश चिनियाँहरू नै हुन्छन् । तियानमेन स्क्वायरमा राता झण्डाहरू फरफराइरहेको पृष्ठभूमिमा राष्ट्रिय संग्रहालय, सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङको सम्झनामा बनाइएको ‘माओ स्मृति हल’जस्ता ऐतिहासिक महत्व राख्ने कुरा छन् । र मान्छेहरूको बथान यिनै ऐतिहासिक कुरासँग साक्षात्कार गर्न यहाँ आइपुग्छन् ।
एउटा चिनियाँ जोडी चेयरम्यान माओले लगाउने हरियो ताराअंकित क्याप किन्न मोलमोलाइ गरिरहेको छ । १० आरएमबी (युआन) तिरेर क्याप किन्दै गरेको जोडीलाई सोध्न मन लाग्छ, तिमीहरू माओलाई कसरी सम्झन्छौ ? फरेन स्टडिज युनिभर्सिटीमा पढ्ने एकजना दोभासे चिनियाँ केटी आइभी ती जोडीका कुरा अथ्र्याउँछिन्, ‘माओ हाम्रा नायक हुन् । उनलाई हामी आदरसाथ लिन्छौ र यहाँ उनैको स्मृति हल हेर्न आएका हौं ।’ जोडी यति भनेर एउटा ठूला लाइनमा मिसिन्छ, जहाँ दसौं हजार मानिस माओ स्मृति हलभित्र छिर्न लामबद्ध भएका छन् ।
तियानमेन स्क्वायर, ग्रेट वाल, समर प्यालेस अथवा फोरविडन सिटी, सबैजसो घुमफिर गर्ने स्थल बाहिर माओको सम्झना दिलाउने क्याप, व्याच, स-साना सालिक बेच्न राखिएको देख्दा लाग्छ, चीन अझै माओमय छ । यी दृश्यले बाहिरियालाई आज पनि चिनियाँहरू आफ्नो परिचयमा माओ जोड्न चाहँदा रहेछन् भन्ने लाग्न सक्छ । तर यथार्थमा उनीहरू माओलाई एउटा ऐतिहासिक पात्रको रूपमा मात्रै सम्झन चाहन्छन् । बाहिरी दुनियाँलाई वर्तमान चीनको छवि माओसंग नजोडियोस् भन्ने चाहन्छन् । सिङख्वा युनिभर्सिटीमा पत्रकारिताका अध्यापन गर्ने एकजना प्राध्यापक ची अनविन भन्छन्, ‘चेयरम्यान माओ चीनको संघर्षको इतिहास हो । अहिलेको चीन संघर्षमा होइन, समृद्धितर्फ बढिरहेको छ । त्यसकारण चीन अहिले माओको नामले चिनिनु आवश्यक छैन ।’
चीनले २०१० मा ओलम्पिक खेल आयोजना गर्दाका बखतमा पनि माओलाई कसरी सम्झने भन्ने विषयमा बहस नै भएको रहेछ । त्यो बखत एकथरीले ओलम्पिक खेलको लोगो नै ‘दौडिरहेको माओ’ बनाउने कि प्रस्ताव गरेको रहेछ । प्रा.अनविन भन्छन्, ‘तर विश्व अर्थतन्त्रमा दोस्रो ठूलोमा दर्ज भइसकेको चीनले अब पुरानो संघर्षको इतिहासलाई परिचय बनाउन आवश्यक छैन भनेर त्यसो गरिएन ।’ तर यसको अर्थ माओको योगदानलाई अवमूल्यन गर्न नहुने कुरामा उनी सचेत छन् । ‘माओले ल्याएको सांस्कृतिक जागरणको अवमूल्यन गर्ने होइन । उनलाई स्मरण गर्नुपर्छ’, भन्छन्, ‘तर अब चीनलाई विश्व रंगमञ्चमा चिनाउने प्रतीक माओ हुनसक्दैनन् ।’
आर्थिक समृद्धितिरको यात्रासँगै विश्व रंगमञ्चमा चिनियाँहरू बाहिरियालाई आफ्नो परिचय दिंदा ‘सफ्ट पावर’ भन्न रुचाउँदा रहेछन् । एकजना चिनियाँ अधिकारी चीनले विश्व राजनीतिमा कुनै पनि राष्ट्रलाई बल या पैसाको आडमा प्रभावमा राख्ने नीति नलिएको बरु सहयोगात्मक भूमिका खेल्दै ‘सफ्ट पावर’ कूटनीति लिएको बताउँछन् । आर्थिक समृद्धि र भौतिक विकासलाई एक सूत्रीय अभियान बनाएका चिनियाँहरूले विश्व बजारमा आफ्नो बर्चस्व राख्न खोजेको देखिन्छ । एक अर्का चिनियाँ विज्ञ भन्छन्, ‘हामी हाम्रा उत्प्ाादनलाई विश्व बजारमा छ्याप्छ्याप्ती पार्न चाहन्छौं । पाँच जनाको परिवारमध्ये कम्तीमा चार सदस्यले चीनमा उत्पादन भएको जुत्ता लगाउन् भन्ने हाम्रो उद्देश्य हो ।’
विश्व बजार चिनियाँ उत्पादनले ढाकेको छ । महाशक्तिशाली अमेरिकादेखि अफ्रिकाका गरिब मुलुकहरूसम्म सबैतिर चिनियाँ उत्पादनको खपत अत्यधिक हुने गरेको छ । बजार अनुसार फरक स्तरका सामग्री उत्पादन गरिरहेको चीनले दिन दुगुना रात चौगुनाका दरले आर्थिक प्रगति गरिरहेको छ । सन् १९७८ मा देङ सिआयो पिङले खुला नीति अख्तियार गरेपछि आर्थिक सुधारको बाटोमा हिंडेको चीनले झन्डै साढे तीन दशकको अवधिमा पत्याउनै कठिन हुने आर्थिक समृद्धि हासिल गरेको छ । तीन दशकसम्म हरेक वर्ष लगातार अनुपातमा १० प्रतिशतका दरले आर्थिक वृद्धि हासिल गर्दै आएको चीनले पछिल्लो पाँच वर्षमा १० दशमलव ६ प्रतिशतका दरले आर्थिक वृद्धि गरेको छ ।
साढे तीन दशकभन्दा अघिको चीनलाई फर्केर हेर्दा स्वयं चिनियाँहरू पनि यो चमत्कारिक विकास देखेर आश्चर्यचकित छन् । मानवअधिकार विषयसँग सम्वन्धित ५० वषर्ीय प्राध्यापक याओ जुनमेइ ३१ वर्ष अघिको आफ्नो समाजमा फर्किन्छिन् । त्यो बेलाकी उनको एउटा साथीको कथा कम्ती ठिटलाग्दो छैन । ‘ती साथीका आठ दिदीबहिनी थिए र उनी सबैभन्दा जेठी थिइन् । उनीहरूसँग जम्मा एउटामात्रै ट्राउजर थियो । सबै पालैपालो लगाएर स्कुल जान्थे’, जुनमेइ भन्छिन्, ‘तीन दशक अघिको त्यो अवस्था सम्भिmँदा सपनाजस्तो लाग्छ ।’ झन्डै पाँच हजार वर्ष पुरानो इतिहास बोकेको चीनले दास, सामन्ती, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था पार गरेको छ । सन् १९४९ मा सांस्कृतिक क्रान्तिपछि समाजवादमा प्रवेश गरेको चीनको आर्थिक मुहार फेरिएकोचाहिं सन् १९७८ पछि हो ।
बेइजिङ, गोन्जाउ, फुजियानजस्ता सहर पुग्दा चीनको भौतिक विकास चरमचुलीमा पुगेको अनुभूति हुन्छ । सडक, यातायात, शिक्षालय, अस्पताल, व्यवस्थित सहरीकरण सबै कुरामा पश्चिमा शैलीमा भौतिक पूर्वाधार विकास भएको देख्न सकिन्छ । ३१ प्रान्त भएको चीनमा झन्डै ७/८ वटा प्रान्तको भौतिक विकास अभूतपूर्व भए पनि बाँकी चीन अझै पनि विकास निर्माणको पर्खाइमा बसेको स्वयं चिनियाँ अधिकारी भन्छन् । सरकारले क्रमशः बाँकी ठाउँमा पनि आर्थिक विकास गर्दै लैजाने लक्ष्य लिएको छ । यद्यपि चीनमा आर्थिक विकाससँंगै वर्गीय विभेद बढेर गएको छ । सहर र गाउँ, धनी र गरिब बीचको बढ्दो आर्थिक असमानता चिनियाँको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ । स्पेनका लागि चीनका पूर्वराजदूत सीभीआई बैबेन चीनमा आर्थिक विकाससंगै विभेद बढेको स्वीकार्छन्, भन्छन्, ‘चीनमा सहरीकरण व्यापक भएको छ, तर यसले वर्गीय विभेद बढाएको छ ।’ बेइजिङ युनिभरसिटीमा अर्थशास्त्रका प्रा. सन की मिङ पनि आर्थिक विकाससंगै बढ्दो विभेदलाई न्यून गर्न धेरै गर्न बाँकी रहेको बताउँछन् । भन्छन्, ‘जातीय, क्षेत्रीय असन्तुलन बढ्दो छ । यसलाई सम्बोधन गर्नुपर्छ ।’
सरकारले ११ आंै पञ्चवर्षीय योजनामा सहर र गाउँ बीचका आर्थिक असमानता घटाउन, गरिबी निवारण, मातृ मृत्युदर घटाउन, औसत आयु बढाउन विभिन्न कार्यक्रम राखेको बैबेन बताउँछन् । ‘सरकारले गाउँलेलाई सहरमुखी बनाउने योजना ल्याएको छ, कतिपय ठाउँमा गाउँलेहरूलाई सहरतर्फ आउन आकषिर्त गरिरहेको छ’, उनी भन्छन्, ‘तर गरिरहेको खेतीपाती र आफ्नो थातथलो छोडेर वृद्धवृद्धा सहर आउन तयार छैनन् । युवाहरू भने सहरतर्फ आकषिर्त छन् ।’ झन्डै दुई दशकदेखि बेइजिङमा व्यापार गरेर बसेका एकजना नेपाली डा. पवित्र पन्तको अनुभवमा पनि चीनमा आर्थिक असमानता चुलिएको छ । उनका अनुसार, बेइजिङमा मात्रै मासिक एक हजार युआन कमाउनेदेखि २५ हजार युएस डलर तलब खानेसम्म छन् ।
चिनियाँहरू आफ्नो आर्थिक विकास र झन्डै साढे तीन दशकमा कमाएको सफलताबारे जति हौसिएर भन्न रुचाउँछन्, राजनीतिका बारेमा उतिसारो बोल्न चाहँदैनन् । चीनको राजनीतिबारे चासो राखे पनि अधिकांश विज्ञहरू आफ्नो विषय अन्तर्गत नपर्ने भनेर जवाफ दिन चाहँदैनन् । बेइजिङस्थिति सूचना परिषद्को कार्यालयकी एक सूचना अधिकृत सि यान्जुनचाहिं राजनीतिका बारेमा कुरा गर्न अग्रसर भइन् । बेलायतस्थित अक्सफोर्ड युनिभरसिटी पढेर फर्किएकी यान्जुनले भनिन्, ‘पश्चिमाहरूले विरोध गरेजस्तो चीनमा एकदलीय व्यवस्था होइन, यहाँ अरु पनि आठवटा राजनीतिक पार्टी छन् ।’
के-के रहेछन् त ती ? चाइना इन्टरकन्टिनेन्टल प्रेसले प्रकाशित गरेको ‘जनरल रिभ्यु अफ चाइना’मा उल्लेख भएअनुसार, रिभोलुसनरी पार्टी अफ चाइनिज कोमिङताङ, चाइना डेमोक्रेटिक लिग, चाइना डेमोक्रेटिक नेसनल कन्स्ट्रक्सन एसोसियसन, चाइना एसोसियसन फर प्रोमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट एन्ड वर्कर्स पार्टी, चाइना झी गोंग पार्टी, जीउ सान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिग चीनको खाजगरी आठवटा अरु पार्टी अस्तित्वमा छन् । तर यीमध्ये कुनै पनि पार्टी न सत्तामा छन् न प्रतिपक्षमै ।
चीनको संविधानअनुसार, राष्ट्रिय जनसभा (नेसनल पिपुल्स कंग्रेस) सबैभन्दा ठूलो कार्यकार निकाय हो । त्यहाँ एउटा स्थायी समिति पनि हुन्छ । राष्ट्रिय जनसभा र स्थायी समितिसंग विभिन्न निर्णय गर्ने वैधानिक अधिकार निहित हुन्छ । चीनमा सत्ताको बागडोर चिनियाँ कम्युनिष्ट पार्टीको हातमा छ । चिनियाँ कम्युनिष्ट पार्टीसँगको मैत्रीपूर्ण सम्बन्धका आधारमा यी अरु पार्टीहरू पनि क्रियाशील हुन्छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी र अन्य पार्टीहरूको साझा फोरम चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्प|mेस (सीपीपीसीसी) हो, जहाँ बैठक बस्दा अन्य पार्टीहरूले पनि आफ्ना सुझावहरू राख्न पाउँछन् । एकजना विज्ञ भन्छन्- ‘कम्युनिष्ट पार्टीको छाताभित्र अरु पार्टीहरू पनि अटाउने हुन् । धेरै पार्टीको अर्थ पश्चिमाहरूको बहुदलीय परिपाटी होइन ।’ तर बहुदलीय प्रतिस्पर्धा र संसदीय व्यवस्था नभए पनि चिनियाँहरू आफ्नै ढंगले प्रजातन्त्रको अभ्यास भइरहेको बताउँछन् ।
इन्स्िटच्युट अफ एसियन प्यासिफिक स्टडिजसँग आवद्ध एकजना चिनियाँ प्रा. वाङ होङवेइ पश्चिमाहरूको जस्तो संसदीय प्रजातन्त्र चीनका लागि उचित नहुने तर्क गर्छन् । भर्खरै चीन र भारतसँगको सम्बन्धका बारेमा प्रा. वाङ नयाँ पुस्तक -अ क्रिटिकल रिभ्यु अफ कन्टेम्पोरेरी चाइना(इन्डिया रिलेसन) प्रकाशित भएको छ, । पुस्तकमा उनले सन् १९४० देखि २०१० सम्मको चीन-भारत सम्बन्धका उतार-चढावलाई समेटेका छन् । नेपाल मामिलामा समेत विज्ञता कमाएका वाङको निष्कर्ष छ, ‘चीन पश्चिमाहरूको जस्तो संसदीय प्रजातन्त्र कपी गर्न सक्दैन । झन्डै एक अर्ब तीस करोड जनसंख्या भएको हाम्रो मुलुकले त्यस्तो व्यवस्था धान्न सक्दैन । कदाचित त्यस्तो व्यवस्था अपनाए त्यसको भोलिपल्टै मुलुक गम्भीर अराजकतामा फस्न सक्छ । त्यसकारण हामी फरक किसिमले प्रजातन्त्रको अभ्यास गरिरहेका छौं ।’
‘पश्चिमाहरू चीन कमजोर भएको हेर्न चाहन्छन्’
इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिजसँग आबद्ध ७८ वर्षीय प्राध्यापक वाङ होङवेइ नेपालको राजनीतिबारे जानकार राख्ने एक चिनियाँ विज्ञ हुन् । गतसाता बेइजिङस्थित नेपाली राजदूतावासमा भेटिएका प्रा. वाङसँग नेपाल-चीन सम्बन्ध र चीनकै समसामयिक विषयमा केन्दि्रत रहेर गरिएको कुराकानीको संक्षेपः
बेइजिङबाट नेपालको राजनीतिलाई कसरी नियाल्दै हुनुहुन्छ ?
यतिखेर नेपाल राजनीतिक परिवर्तनको प्रक्रियामा छ । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया सकारात्मक दिशातर्फ बढिरहेको छ । जहाँसम्म मलाई ज्ञान छ, केही वर्षयता नेपालको राजनीतिमा विभिन्न राजनीतिक पार्टीहरूबीच आपसी विवाद र द्वन्द्व चल्दै आएको छ । यद्यपि फरक-फरक राजनीतिक पार्टीका नेताहरूले आफ्ना मतभिन्नताहरूलाई साँघुराउँदै सहमतिको साझा मिलनविन्दु खोजिरहेका छन्, खासगरी शान्ति प्रक्रिया र संविधान निर्माणका सवालहरूमा । मे महिनाको अन्त्यसम्ममा नेपाली नेताहरू यी दुई कार्यसूची पुरा गर्न सफल हुने म विश्वास गर्छु । यस संगसंगै प्रमुख दलहरूको एकीकृत सरकार गठन हुने र नेपाल विकास र समुन्नतिको बाटोमा हिंड्ने अपेक्षा पनि मैले लिएको छु ।
नेपालमा चिनियाँ प्रभाव बढेको र उसले अपनाउँदै आएको ‘मौनकूटनीति’ तोडेको भनिंदैछ नि ?
अवश्य पनि विगतका वर्षहरूको तुलनामा पछिल्ला वर्षमा चीनले आफूलाई पश्चिमतर्फ केन्दि्रत गरेको छ । यसअघि चीनको धेरै ऊर्जा पूर्वी क्षेत्र समुद्रीतटीय क्षेत्रमा खर्च गर्यो । अहिले आर्थिक विकासका लागि तिब्बत लगायत पश्चिमी क्षेत्रमा आफूलाई बढी केन्दि्रत गरेको छ । यसै मेसोमा चीनले नेपाल लगायत अरु मित्र राष्ट्रहरूसँग सम्बन्ध र सहयोगलाई बढावा दिएको छ । उद्योग व्यवसायका हिसाबले भारतसँगको सम्बन्ध पनि विस्तार भइरहेको छ । चीनको विकासको यो स्वाभाविक परिणति हो ।
अहिले चीन र नेपालबीच सिधा हवाई सम्पर्क भएकाले आवत-जावत पनि बाक्लिंदै गएको छ । त्यसले पनि सक्रियता बढेको देखिएको हुनसक्छ । विगतमा हाम्रालागि नेपाल भ्रमण सहज थिएन । म पहिलोपटक सन् १९६३ मा नेपाल जाँदा म्यानमार, ढाका हुँदै जानुपरेको थियो र त्यसका लागि झन्डै एक साता लागेको थियो । त्यो बेला तिब्बत, सेन्जन लगायतका धेरै क्षेत्र विकास भएको थिएन । अहिले चिनियाँ पर्यटक नेपाल घुम्न जान थालेका छन् ।
चीनको नेपालसँगको चासो खालि आर्थिक विकास र सहयोगमात्रै हो त ?
नेपालसंगको चीनको सुरक्षा चासो पनि जोडिएको छ । अमेरिका लगायतका पश्चिमा शक्तिहरूले तिब्बत मामिलामा हस्तक्षेप गर्ने प्रयत्न गर्छन् । नेपालसँग तिब्बतको सीमा जोडिएकाले हाम्रो तिब्बतको सुरक्षा चासो नेपालसँग जोडिएको छ । नेपाललाई चीनले उच्च प्राथमिकतामा राख्नुको अर्को कारण तिब्बत पनि हो ।
नेपालमा बेलाबखत हुने गरेको ‘फ्रितिब्बत’ गतिविधि प्रति चिनियाँ पक्ष के सोच्छ ?
नेपाल सरकारले तिब्बती शरणर्थीका नाममा हुने गतिविधिलाई खुल्मखुल्ला गर्न दिएको छैन । तर कहिलेकाही चीनविरुद्ध नाराबाजी र प्रदर्शन गर्दा पक्रिने अनि भोलिपल्टै पश्चिमा शक्तिहरूको दबाबमा छोड्ने गरेको पाइन्छ । तर हामीले नेपालको अप्ठ्यारो बुझेका छौं । अहिले सरकारले चीन विरोधी गतिविधि गर्नेलाई अत्यन्त सख्ती अपनाएको छ ।
तिब्बती शरणार्थीले आत्मदाह गर्ने भन्ने प्रचारका कारण पहिलोपटक तय भएको चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित भयो र दोस्रोपटक अत्यन्त संक्षिप्त सूचनामा भ्रमण भयो, चिनियाँपक्षले यो भ्रमणलाई कसरी हेरेको छ ?
चिनियाँ प्रधानमन्त्री बेन जिआबाओको यो नेपालका लागि पहिलो भ्रमण थियो । उनले त्यहाँ नेपालका प्रमुख पार्टीका नेताहरूसँग भेटघाट गरे । सबै प्रमुख पार्टीका नेताहरूसँग भएको भेटघाट महत्वपूर्ण हो । त्यसक्रममा उनले चीन सबै प्रमुख पार्टीहरूसँग उत्तिकै सम्बन्ध विस्तार गर्न चाहने कुरा पनि व्यक्त गरे । नेपालको आर्थिक विकासमा सहयोग गरे । यो दुबै देशका लागि उपलब्धिपूर्ण भयो भन्ने लाग्छ ।
नेपाल भारत-चीन लगायत विदेशी शक्तिराष्ट्रहरूको स्वार्थ टकराव हुने थलो बन्दैछ भनिन्छ नि ?
चीनको सन्दर्भमा भन्नुपर्दा हामीले कहिल्यै पनि नेपाललाई आफ्नो स्वार्थको खेलमैदान बनाउन चाहेका छैनौ । हामी ‘बिग बोस’को भूमिकामा होइनौ, नेपालको आर्थिक-सामाजिक विकासमा सहयोग पुराउन चाहन्छौं । चीन कुनै छिमेकी देशलाई आफ्नो प्रभुत्वमा राख्न चाहँदैन, नत कुनै खाले नियन्त्रणमा राख्ने महत्वाकांक्षा नै पालेको छ । हामी छिमेकी देशलाई प्रभाव या नियन्त्रणमा होइन, मित्रवत सम्बन्ध राख्न चाहन्छौं । नेपाल छिटोछिटो विकास भएको हेर्न चाहन्छौं । नेपाली जनताको आर्थिक विकास र जीवनस्तर सुध्रेको हेर्न चाहन्छौं । चीन आफ्ना छिमेकीहरूसँग शान्ति र मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहन्छ ।
भारत, अमेरिका लगायतका राष्ट्रको नेपाल चासो चाहिं ?
अरु राष्ट्रहरू भारत र पश्चिमाको नेपाल अवधारणा र चासो फरक छ । अमेरिकाको कुरा गर्ने हो भने चीनमा उसको सबैभन्दा मुख्य चासो तिब्बत हो । ऊ लगायतका पश्चिमा शक्ति तिब्बत चीनबाट अलग्गिएको हेर्न चाहन्छन् । चीन कमजोर भएको हेर्न चाहन्छन् । आफ्नो यस्तो चाहना पूर्ति गर्न उसले नेपाललाई रणनीतिक हिसाबले प्रयोग गर्ने प्रयत्न गर्छ । जहाँसम्म भारतको कुरो छ, उसमा बेलायती विस्तारवादको लिगेसी छ । चीनले नेपालमा केही गर्न लाग्यो भने त्यसलाई कतिपय भारतीय अधिकारीले थ्रेटको रूपमा बुझ्छन् । जस्तो, नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूको नेपाल भ्रमण हुँदा पनि भारतीयहरू सशंकित हुने गरेको पाइन्छ । चिनियाँ अधिकारी, प्रतिनिधिमण्डहरूको भ्रमणलाई भारतीय पक्षले चीनको प्रभाव नेपालमा बढ्दै गरेको रूपमा बुझ्छन् । यस्तो उपस्थितिले नेपालमा आफ्नो प्रभाव कमजोर हुने उनीहरू ठान्छन् । तर चीन कहिल्यै त्यस्तो सोच्दैन ।
के त्यसो भए नेपालमा भारतीय प्रभाव बढी छ ?
पक्कै पनि, नेपालमा भारतको प्रभाव चीनको भन्दा बलियो छ । यो स्वाभाविक पनि हो । किनभने सांस्कृतिक रूपले या भनौ भाषाको सहजताले गर्दा नेपालमा भारतको प्रभाव चीनको तुलनामा बढी छ । नेपाल र भारतबीच खुला सीमा छ र आवत-जावत सजिलै गर्छन् । उसको सांस्कृतिक प्रभाव पनि बढी छ । र यसलाई हामीले स्वाभाविक रूपमा लिएका छांै । अरु मुलुकले जस्तो कुनै ‘थ्रेट’का रूपमा लिएका छैनौं ।
अब चीनको राजनीति अवस्था बारे केही कुरा गरौं, बो सिलाई प्रकरणबारे अहिले पश्चिमा मिडियाहरू एकपछि अर्को रिपोर्ट गरिरहेका छन्, यो प्रकरण पछाडिको खास कारण के हो ?
बो सिलाईको श्रीमती गु कैलाई एउटा बि्रटिस व्यवसायी निल हेउडको गत नोभेम्बरमा भएको हत्यामा संलग्न भएको आरोप छ । तर अभियोग प्रमाणित भएको छैन । केन्द्रीय सरकारले यो मामिलामा आफ्नो कुरा बाहिर ल्याइसक्यो र यो विषय छानविनकै क्रममा छ । बो लाई पनि उनको जिम्मेवारीबाट बर्खास्त गरिसकिएको छ । हत्याका पछाडिका सबै कारण खुलेका छैनन् । ठूलो धनराशि विदेशिएको अनुमान पनि गरिएको छ । छानविनका क्रममा भएकाले यसको तथ्य के हो भन्न सकिने अवस्था छैन ।
२५ सदस्यीय पोलिट व्युरो सदस्य भएका बोसिलाई नौ सदस्यीय स्थायी समितिमा आउने धेरै सम्भावना थियो, त्यसैले पार्टी भित्रै हुर्केको शीर्ष नेतृत्वको द्वन्द्वका कारण उनीमाथि षड्यन्त्र भएको हुन सक्ने कुरा पनि बाहिर आएका छन्नि ?
पश्चिमा मिडियाले चीनको यथार्थ समाचारलाई जहिल्यै बङग्याउँछन् । बो एकजना पोलिटव्युरो सदस्य थिए र चोङछिङमा एक नम्बरमा । यो प्रकरणमा छानविन चलेकाले केही भन्न सक्दिन, तर चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा शीर्ष तहमा बसेका राजनीतिकर्मी संलग्न भएको यो ठूलो स्क्यान्डल हो । पश्चिमाहरू चीन विभाजित भएको हेर्न चाहन्छन् । उनीहरू विपन्न र कमजोर चीन भएको हेर्न चाहन्छन् र सानो विषय पाए भने त्यसलाई मिडियामार्फत ठूला बनाएर प्रस्तुत गर्छन् । बो सिलाई प्रकरणलाई पनि पश्चिमा मिडियाले धेरै बढाइ-चढाइ गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष तहमा भ्रष्टाचार भएको त यस घटनाले देखायोनि ?
हु जिन्ताओ, बेन जियाबाओजस्ता नेताहरू सफा छन् । उनीहरूमाथि कुनै दाग लागेको छैन । तर केही नेताहरू भ्रष्टाचारबाट मुक्त छैनन्, अपवादका रूपमा । यो चीनका लागि संवेदनशील हो र नेताहरू यसमा गम्भीर हुनुपर्छ । तर भ्रष्टाचारले धेरै गाँजिसकेको भए चीनले यति धेरै आर्थिक विकास गर्नसक्ने थिएन । केही-केही कमजोरी भएका छन् । यो गम्भीर कुरा पनि हो । तर संगसंगै यसलाई नियन्त्रण गर्न अनुगमन प्रणाली क्रियाशील छ । प्रभावकारी ढंगबाट भ्रष्टाचार गर्नेमाथि कारवाही गरेर निरुत्साहित गरिएको छ ।
चीनको चुनौती केहो ?
चीनले भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेन भने यो आफै कमजोर भएर जान्छ । चीनले सफलता पाउन सक्दैन । शीर्ष नेतृत्व तहमा केही मात्रामा देखिएको सुविधाभोगी प्रवृत्ति, ‘बिग बोस’ बन्ने चाहनामा लगाम लगाइनुपर्छ ।